बाबुआमाका हत्यारालाई युवतीले एके–४७ ले उडाएपछि

11.93K
shares

अफगानिस्तानमा एक युवतीले गत साता आफ्ना बाबुआमाको हत्या गर्ने दुई तालिबान चरमपन्थीको हत्या गरेकी छन् । सामाजिक सञ्जालमा युवतीको बहादुरीको प्रशंसा भइरहेको छ ।

१७ जुलाईको रात गोर प्रान्तको गरिवे गाउँमा युवतीले आफ्नो घरमा राखेको एके–४७ राइलफबाट दुई चरमपन्थीको हत्या गरेकी थिइन् भने केही घाइते भएका छन् ।

घटनाको जानकारी दिँदै स्थानीय अधिकारीले युवतीका बाबु सरकारका समर्थक र गाउँका प्रमुख रहेको बताएका छन् । यसबाट रुष्ट तालिबानले गरिवे गाउँमा उनको घरमा आएर हमला गरेका थिए ।

स्थानीय प्रहरी प्रमुख हबिबुर्रहमान मालिकजादाले तालिबानले युवतीका बाबुलाई जबर्जस्ती घरबाहिर निकालेको र आमाले प्रतिकार गरेपछि दुवै जनाको हत्या गरेको जानकारी दिएको एपीएफले उल्लेख गरेको छ ।

उनले भने, ‘त्यसपछि घरभित्र रहेकी युवतीले घरमा राखेको एके–४७ राइफल निकालिन् र आफ्ना बाबुआमाको हत्या गर्ने चरमपन्थीमाथि गोली चलाइन् । हत्या गर्ने चरमपन्थीको मृत्यु भयो र केही अन्य घाइते भएका छन् ।’

यसरी एके–४७ चलाउने युवतीको उमेर १४ देखि १६ वर्षबीच भएको बताइएको छ । सामाजिक सञ्जालमा हातमा एके–४७ बन्दुक बोकेकी युवतीको तस्वीर शेयर भइरहेको छ ।

यो घटनापछि तालिबान र अन्य चरमपन्थीले उनको घरमा हमला गर्ने कोसिस गरेपछि स्थानीय र सरकारी फौजको प्रत्याक्रमणका कारण सफल हुन नपाएको बताइएको छ ।


divya collage
unigloble collage