राष्ट्रिय निकुञ्जका सैनिकको पिटाईबाट १ को मृत्यु, सेनाद्धारा छानविन सुरु

5.89K
shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो । राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए  ।

सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो । राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताए  ।

सेनाले नियन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो । ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए ।

निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले उनीहरूलाई समातेको थियो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ ।

मृतकका परिवारले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पनि पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ ।

नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको बताएको छ । शुक्रबार बिहान नेपाली सेनाले विज्ञप्ति जारी गर्दै सो घटनाको विषयमा आन्तरिक छानबिन सुरु गरिसकेको उल्लेख गरेको हो ।

‘यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानबिन सुरु गरिसकेको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी गराउँदछौं । नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।