फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्चको असन्तुष्टि (विज्ञप्तिसहित)

Nepal Life Insurance Long Ad

काठमाडौं । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ । न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ ।

न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको व्यहोरो विदितै छ, प्रवक्ता भद्रकाली पोखरेलले विज्ञप्तिमा भनेका छन्, अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्धाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत सम्वद्ध सबैमा अनुरोध छ ।

पत्नी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएको फैसला र महाराजगञ्ज हिट एण्ड रन घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेश विवादित भएका छन् । पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको वेञ्चबाट भएको हो । यो मुद्धा पुनरावलोकनका लागि सर्वोच्चकै तीन न्यायाधीशको इजलासले अनुमति पनि दिइसकेको छ ।

यही सन्दर्भमा सर्वोच्चले विज्ञप्ति जारी गरी न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीका टिप्पणी भएको दावी गरेको हो । न्यायपालिकाका काम कारवाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीका टिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान जान जरुरी छ, विज्ञप्तिमा भनिएको छ ।

अदालतका फैसला वा आदेशउपर स्वच्छ टिप्पणी, आलोचना र प्राज्ञिक बहस हुन सक्ने भन्दै त्यसमा निश्चित सीमा र मापदण्डभित्र रहनुपर्ने सर्वोच्चले बताएको छ ।

१२ साउन २०७७, सोमवार २२:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु