कोरोनाबाट एकै दिन ३ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ५२ पुग्यो

13.75K
shares

धरान । लकडाउन खुल्ला भएसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बुधबार मात्रै नेपालमा कोरोना संक्रमणका कारण तीन जनाले ज्यान गुमाएका छन् ।

बुधबार सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ५२ पुगेको छ ।

बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङको सुनवर्षी नगरपालिकाका एक ४५ वर्षीय पुरुषको पौने ५ बजे मृत्यु भएको हो ।

ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलनपछि कोशी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसअघि बुधबार विहान कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६० र ६८ वर्षीय पुरुषहरु रहेका छन् ।

गत साउन ८ गते कोरोना पुष्टि भएका पर्सा ६८ वर्षीय पुरुषको विरगन्जको नारायणी अस्पतालको अस्थायी कोभिड १९ अस्पतालको आईसीयूमा उपचाररत एकजनाको बुधबार बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक उदयनारायण सिंहले जानकारी दिए ।

उनलाई मुटुको समस्या देखिएपछि आईसीयूमा राखिएको थियो । त्यसैगरी मंगलबार राति नेशनल अस्पतालमा भर्ना भएका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनलाई बुधबार कोरोना संक्रमण भएको पुष्टि गरेको संयोजक सिंहले जानकारी दिए । ६० वर्षीय पुरुषलाई श्वासप्रश्वास र मिर्गौलाको समस्या देखिएको थियो ।