मानवीय त्रुटीका कारण चेपाङका घर जलेको : मन्त्री बस्नेत
वि.सं.२०७७ साउन १४ बुधवार २२:३६
shares

File photo
काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानविय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा घटना घटेको बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानविय त्रुटिका कारण चेपाङ वस्तीमा घर जलेको बताएका हुन् ।
मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ वस्तीमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उनले बताए ।
भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारीले हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानवीय भएको समेत मन्त्री बस्नेतले बताएका हुन् ।
उनले घटना छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराए ।
मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ति ढाकछोप नगरिने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफु गम्भिर रहेको बताए ।
समितिले भने घटनालाई संवेदनशिल भई छानविन गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ ।
बैठकका निर्णय सुनाउँदै समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो खालको घटना दोहोरिन नदिन र दोषिमाथि हदै सम्मको सजाय दिई पिडित पक्षलाई उचित क्षतिपूर्तिको न्यायोचित व्यवस्था गर्न निर्देशन दिए ।
















