राहतमा बाँडिएको चामलमा ढुंगा र चुराको टुक्रा
वि.सं.२०७७ साउन २५ आइतवार ०८:३४
shares

भोजपुर – रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ ।
गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो ।
वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए ।
‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो ।
योभन्दा ठूलो विडम्बना अरू के हुन्छ ? ’, उनले भने ।
गाउँपालिकाले ६ वडाका २ हजार १ सय ८४ परिवारलाई राहत दिएको थियो ।
वडा नम्बर ४ दलगाउँमा बाँडिएको चामलमा पनि ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बिया भेटिएको स्थानीयको गुनासो छ ।
राहतका नाममा सडिएको चामल पाएपछि विपन्न तथा मजदुरका परिवारलाई निल्नु न ओकल्नु भएको टंकराज भट्टराईले सुनाए ।
राहतका नाममा कुहिएको चामल पाउँदा अन्य विकल्प खोज्न बाध्य बनाएको ओखे्रेकी प्यारी राईले सुनाइन् ।
भनिन्, ‘चामलको बोरा खोल्दा कम गुणस्तरको पाइयो ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रदीपचन्द्र राईले लेखेका छन् ।
































