लकडाउनको पीडा : भाडा तिर्न नसक्दा ओडारमा बास

5.3K
shares

लामो समयको लकडाउनले गर्दा ज्याला मजदूरी गर्न नपाएको तनहुँको एक परिवार कोठा भाडा तिर्न नसकेपछि ओढारमा बस्न बाध्य भएको छ। कोरोना रोकथामका लागि भन्दै सरकारले लगाएको पटक-पटकको लकडाउनका कारण मजदूरी गर्न नपाएपछि उक्त परिवार गत बिहीबारदेखी व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा बस्दै आएको छ ।

दैनिक ज्यालादारीमा भारी बोक्ने काम गर्दै आएका मनवीर गुरुङको परिवार कोठा भाडा तिर्न नसकेपछि ओढारमा बस्न बाध्य भएको हो। मनवीरसंगै उनकी श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा ओढारमा बसिरहेका छन् । कोभिड–१९ को सङ्क्रमणले भएको पटक/पटकको बन्दले काम गर्न नपाएपछि समस्या परेको मनवीरले गुनासो गरे ।

“दैनिक ज्यालादारीमा भारी बोक्नेलगायत काम गरेर जीवनयापन गरेका थियौँ तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नुपरेको छ”, मनवीरकी श्रीमती उदाशियाले भनिन् । उनीहरु स्थानीय मोतीकुमार जोशीको घरमा डेरा गरी बसेका थिए । आम्दानी नभएकाले लामो समयदेखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भएको उनले पीडा व्यक्त गरिन् ।

चार जनाको परिवारमध्ये एक जना शारीरिक अपाङ्गतासमेत रहेकाले उनीहरुलाई बिहान बेलुकाको छाँक टार्न थप समस्या परेको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आर्थिक विपन्नताले उदाशिया गुरुङका परिवार गुफामा आएर बस्न बाध्य भएका हुन् ।

स्थानीयवासीले दिएको अन्नको भरमा उनीहरुको जीवन चलिरहेको उदाशिया बताउछिन् । ओडारमा बसेका परिवारलाई उद्धार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । “जङ्गली जीवन बिताउँदै आएका कुसुण्डा, राउटेले जङ्गल छाडिसके तर उनीहरु ओडारमा बसेपछि हामीलाई नरमाइलो लागिरहेको छ”, पुल्चोक निवासी डा एचबी क्षेत्रीले भने, “उद्धारको लागि सरकारको विशेष ध्यान जान जरुरी छ ।”

गरिबीले गर्दा छोरीको पढाइ पनि अवरुद्ध भएको सोही ठाउँ निवासी राधा बस्न्यातले जानकारी दिइन् ।उनले भनिन्, “पूजा कक्षा ६ मा पढ्थिन्, उनीमा पढ्ने रहर थियो तर कापी र कलम किन्ने पैसा नभएकाले पढाइ अधुरो भएको छ ।” शारीरिकरुपमा अशक्त भएकाले काम गर्न नसक्ने अवस्थामा छन् । गणेशको नागरिकता बनाएर अपाङ्गता परिचयपत्र दिलाउने प्रयास भइरहेको टोल विकास संस्थाले जनाएको छ ।