दिउँसै लालटिन बालेर प्रदर्शन: कामचलाउ प्रधानमन्त्री र मन्त्रीलाई कालोमोसो दल्ने तामाङको चेतावनी!
वि.सं.२०७७ पुस २२ बुधवार १३:४५
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन समुह प्रचण्ड–नेपाल पक्ष को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छन्।
अनेरास्ववियू स-संयोजक रञ्जित तामाङको नेतृत्वमा अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्।
विरोध कार्यक्रम माइतीघर देखी बानेश्वर सम्म आइपुगेर कोण सभामा परिणत भएको हो। कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका स-संयोजक रन्जित तामाङले प्रधानमन्त्री ओलीले गरेको असबैधानिक “कु” को कदम न सच्याए कामचलाउ प्रधानमन्त्री र मन्त्रीलाई कालो झन्डा मात्र होइन, कालो मोसो दल्ने चेतावनी दिएका हुन् ।
मंगलबार पत्रकार सम्मलेन गर्दै अनेरास्ववियूले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउने देखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनलगायत रहेका छन् ।
त्यस्तै ज्ञापनपत्र बुझाउने, सडक बहस र बयलगाडा प्रदर्शन समेत आन्दोनलका कार्यक्रम तय गरिएको थियो।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्।































