जयसिंह धामी प्रकरण-भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष

4.85K
shares

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काउँदा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–२, खाङदाङस्थित माल बस्ने जयसिंह धामी महाकालीमा खसे । साउन १५ मा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ । सो घटना छानबिनका लागि साउन १७ गते गृहमन्त्री बालकृष्ण खाणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा समिति गठन गरेका थिए । गौतम नेतृत्वको समितिले करिब १ महिनापछि अर्थात् भदौ १५ मा प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले घटनामा प्रत्यक्ष रुपमा सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

जयसिंह बेपत्ता भएको स्थान ब्यास गाउँपालिका–२, मालघाट हो, जहाँबाट साउन १५ मा जयसिंह भन्दा पहिले चारजना तुइनमा झुण्डिएर पार भइसकेका थिए । जयसिंह पाँचौ नम्बरमा तुइन तर्दै थिए । नेपालतर्फ खाँबो गाडेर तुइन अड्काइएको थियो । पारीपट्टी भारतको गस्कु ईलाकामा रुखमा तुइनको लठ्ठा बाँधिएको थियो ।

जयसिंहभन्दा पछि तुइनबाट भारततर्फ जानका लागि पालो कुरेर बसेका दुईजना थिए । उनीहरु काठमाडौं जाने गाडी चढ्नका लागि भारतको बाटो हुँदै सदरमुकाम खलंगा जान खोजेका थिए । मालघाट (नेपालतर्फ) अर्का ब्यक्ति थिए, तुइन सञ्चालक । सहसचिव गौतम नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले जयसिंहभन्दा अगाडि तुइन तरेका चारजना र वारिपट्टी रहेका तीन जनासँग भेटेर कुराकानी गरेको छ ।

छानबिन प्रतिवेदनमा जयसिंह महाकालीमा झरेको क्षणलाई यसरी ब्याख्या गरिएको छ, ‘जयसिंह तुइनको लगभग अन्तिम बिन्दुमा पुग्दै थिए, त्यहिबेला भारततर्फबाट ओरालो बाटो झरेर आएका दुईजना सशस्त्र सीमा बल (एसएसबी)का अधिकारीले रुखको फेदभन्दा केही माथि बानेको लठ्ठा फुस्काउँदा जयसिंह महाकाली नदीको भेलमा झरे ।’

सो दृश्य नेपालतर्फ रहेका तुइन सञ्चालक सहित ३ जनाले देखेको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ‘जयसिंहभन्दा अगाडि तुइनबाट महाकाली तरेकासँग चाहिँ सशस्त्र सीमा बलको भेट भएन,’ प्रतिवेदन उद्धृत गर्दै गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीसँग भने, ‘चारजना हिँडिसकेपछि एसएसबीका दुईजना प्रहरी आएर तार खुस्काउँदा सो घटना भएको छानबिन समितिको निष्कर्ष छ ।’

समयको बचतका लागि तुइनको प्रयोग

जयसिंह ब्यास गाउँपालिका वडा नम्बर–२, खाङदाङ माल बस्थे । ब्यास गाउँपालिका–२ मालघाटबाट तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा चार घण्टामा आइपुगिन्छ । तर, नेपाल तर्फबाट आउनु परेमा दुईदिन लाग्छ ।

भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई सीमानामा ‘दोस्रो दर्जाको नागरिक’को ब्यवहार गर्ने गरेको पनि समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

छानबिन समितिका सदस्यहरुले भारतीय पक्षसँग चाहिँ कुरा गरेका छैनन् । ‘भारतसँग कुरा गर्ने र मालघाटको पारीपट्टी जाने म्याण्डेट हामीलाई थिएन,’ समितिका एकजना सदस्यले रातोपाटीसँग भने, ‘नेपालतर्फ अध्ययन र छानबिन गर्दा भेटेको कुरालाई समेटेर प्रतिवेदन तयार गरेका छौं ।’

प्रतिवेदनले कुटनीतिक पहल गरेर सशस्त्र सीमा बल (एसएसबी)का अधिकारीमाथि अनुसन्धान गरेर पीडितलाई क्षतिपूर्ति दिलाउन सिफारिस गरेको छ । प्रतिवेदनका आधारमा कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

-राजेश भण्डारी


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083