टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्रीको हिरासत

3.48K
shares

काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ ।

अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की स्वास्थ्य सम्बन्धी समस्याका कारण विशेष व्यवस्था गर्न म्याद थप हुँदा आदेश भएको बताउँछन् ।

‘तर जिल्ला प्रहरी परिसर, टेकुमा त्यस्तो विशेष व्यवस्था केही छैन,’ उनले  भने, ‘यहीँ भएको एउटा छुट्टै कोठामा राखेका छौं।’ हिरासतमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरु भएकाले एकैठाउँमा सबैलाई राख्नु उपयुक्त पनि नहुने प्रहरी अधिकृतहरु बताउँछन् ।

‘बयान भइनसकेको अवस्थामा सल्लाह गर्ने अवस्था पाउन सक्छन्, त्यसैले छुट्टाछुट्टै राखेका हौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका ती अधिकृतले भने । खाँणलाई हालसम्म भेट्न परिवारका सदस्य र शुभेच्छुकहरु मात्र आएका छन् । हालसम्म नेताहरु उनलाई भेट्न नपुगेको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘प्रदेशका एक जना सांसद् चाहिँ आउनु भएको थियो, अरु खासै आउनु भएको छैन’, ती अधिकृतले भने, ‘उनले यहीँ क्यान्टिनको खाना खाइरहनु भएको छ, भित्र उहाँको कपडाहरु भएको झोलाबाहेक अरु केही दिइएको छैन।’

प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयका सचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरी वृत्त, सिंहदरबारमा राखेको छ । त्यहाँ पनि उनलाई छुट्टै कोठामा राखेको छ । ‘उहाँको पनि स्वास्थ्य समस्या रहेछ, त्यसैले सँगै नराखिएको हो’, सिंहदरबार प्रहरीका एक अधिकृतले भने, ‘छुट्टै स्थानमा थुनेर राखिएको हो ।’

पाण्डे २० वैशाखमा पक्राउ गरेका थिए । पाण्डेको गिरोहका नाइके केशव दुलाल र ललितपुरका सानु भण्डारीसँग साँठगाँठ देखिएको छ । उनले राजनीतिक नेतृत्वलाई पनि मिलाउने भन्दै ५ करोड ६० लाख रुपैयाँ लिएको तथ्य फेला परेको प्रहरीले जनाएको थियो ।

प्रहरीले पाण्डेको बयान र नीतिगत विषयमा गिरोहलाई सहयोग गरेको फेला परेपछि तत्कालीन गृहमन्त्री खाँणलाई पक्राउ गरेको थियो ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयान लिने क्रममा एमाले नेता रामबहादुर थापा (बादल) र कांग्रेस नेता खाँण गृहमन्त्री भएका बेला कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।

शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन यो गिरोह लागि परेको थियो ।

त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई पनि संलग्न देखिएका थिए । राईलाई प्रहरीले १९ वैशाखमा ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083