स्थानीय वायुको प्रभावले काठमाडौंसहितका जिल्लाहरूमा वर्षा
वि.सं.२०८० वैशाख ३१ आइतवार २०:४३
shares

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण काठमाडौंसहित वाग्मती प्रदेश र कोसी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाले आइतबार साँझदेखि काठमाडौं, मकवानपुर, धादिङ, धनकुटा, तेह्रथुमलगायतका जिल्लाहरूमा वर्षा भइरहेको जनाएको हो ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले भने,’गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ र पोखरामा बनेको बादल पूर्व सर्ने क्रममा छ । यो प्रणालीका कारण वर्षा भएको हो । यसमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘ उनका अनुसार हाल ९.४ एमएमको वर्षा भइरहेको छ ।
मौसमविद् लामिछानेले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको प्रभाव नेपालमा नदेखिएको बताए । उक्त चक्रवात उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ । विभागले आइतबार बिहानै उक्त चक्रवातको प्रभाव नेपालमा उल्लेखनीय नरहने जनाएको थियो ।
विभागले सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरेको छ । विभागका अनुसार सोमबार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
































