सारुक ताम्राकार मृत्यु प्रकरण : निकटस्थहरुसँग बयान लिँदै प्रहरी !
वि.सं.२०८० साउन १ सोमवार १६:३१
shares

काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत्युको अनुसन्धानका क्रममा प्रहरीले उनका निकटस्थहरुसँग बयान लिन सुरु गरेको छ । रातोपुलको शहीद मार्गस्थित आफ्नै घरमा मृत भेटिएका ताम्राकारसँग मृत्यु अघि सम्पर्कमा रहेकाहरुसँग बयान लिएर प्रहरी वृत्त, मालीगाउँले घटनाको अनुसन्धान गरिरहेको हो ।
त्यस क्रममा सारुकले मृत्यु हुनु अघि काम गरिरहेको चलचित्र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग बयान लिएको छ । ‘बाहिर विभिन्न खाले टिका टिप्पणी र प्रश्नहरु आएका छन्, त्यो विषयमा पनि उहाँहरुसँग सोधपुछ हुन्छ’, प्रहरी स्रोतले भन्यो, ‘यो नियमित प्रक्रिया हो ।’
प्रहरीले थप केही कलाकारलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले आत्महत्याको अन्य घटनामा झैँ ताम्राकारको मृत्यु प्रकरणमा पनि बयान लिने लगायतका अनुसन्धानका काम भइरहेको बताए ।
‘अनुसन्धानका क्रममा छानबिनको दायरामा आउनेमाथि छानबिन हुन्छ, दुरुत्साहन गरेको देखिए मुद्दा पनि चल्छ’, रिजालले भने, ‘तर, अहिलेसम्म यो घटनामा ठ्याक्कै बाहिर भन्न मिल्ने खालको कुनै डेभलपमेन्ट छैन ।’
अनुसन्धान अधिकृतहरुका अनुसार, सारुकको मोबाइल जाँचसम्बन्धी रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने अनुमान गरिएको छ । उनी असार २१ गते घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) ले जाँच गरिरहेको छ ।
प्रहरी वृत्त, मालीगाउँको टोलीलाई सारुक मृत अवस्थामा भेटिएको भन्दै २१ असारको राति ११ बजे परिवारले खबर गरेका थिए ।
‘हाम्रो टोली पुगेर हेर्दा बाहिरबाट कसैको कोठामा इन्ट्रान्स भएको देखिएन, उनी एक्लै ढोका बन्द गरेर भित्र बसेका थिए’, मालिगाउँका एक प्रहरी अधिकृत भन्छन्, ‘उनको शवलाई निकालेर घरमा सर्च गर्यौ, त्यस क्रममा कुनै नोट वा त्यस्तो अरु कुनै वस्तु फेला पारेनौं ।’
घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइ रहेको पाइएको एक अधिकृत बताउँछन् ।
हालै परिवारले घटनाको विषयमा सत्य, तथ्य अनुसन्धान गरिदिन भन्दै प्रहरी वृत्त, मालिीगाउँमा जाहेरी दिएको छ । यो बीचमा छानबिनले आत्महत्या बाहेक अन्य कुनै कारण नदेखाएको ती अधिकृत बताउँछन् ।
‘आत्महत्यामा कुनै डाउट नभएपछि हाम्रो टोली पनि त्यहाँ खटिएन’, उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्, ‘सुसाइड नोट नभेटिएकाले मृत्युको कारण चाहिँ अन्यौलमा रह्यो।’
यहीबीच, कलाकारहरुले ताम्राकारको मृत्यु शंकास्पद रहेको दाबीसहित छानबिनको माग गरेका छन् ।
नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकाल्दै ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गरेर कोही दोषी देखिए सत्यतथ्य उजागर गरेर कानुनी दायरामा ल्याउन भनेको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टमपछि परिवारले सारुकको शव बुझिसकेको छ र अन्त्येष्टि समेत भइसकेको छ ।
पोष्टमार्टमको प्रारम्भिक जाँचमा उनको झुण्डिएको कारण मृत्यु भएको भनिएको छ । शरीरमा अन्य कुनै चोटपटक वा अरु केही नदेखिएको एक अधिकृत बताउँछन् । त्यसपछि परिवारले कसैलाई किटान नगरी अनुसन्धानका लागि जाहेरी दिएको थियो ।
तर, यो बीचमा विभिन्न व्यक्तिलाई जोड्दै प्रश्नहरु उठेपछि प्रहरीसँग छलफल भइरहेको ताम्राकारको पारिवारिक स्रोतले बताएको छ ।































