‘बेपत्ता’ चिनियाँ विदेशमन्त्री गाङ पदमुक्त
वि.सं.२०८० साउन ९ मंगलवार १९:१३
3.37K
shares
shares

काठमाडौं । चीनले विदेशमन्त्री चिन गाङलाई पदमुक्त गरेको छ। उनी सात महिनाअघि उक्त पदमा नियुक्त भएका थिए।अब त्यो पद कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन्। उनी यसअघि पनि विदेशमन्त्री थिए।
५७ वर्षीय चिन गाङ सार्वजनिक जीवनमा एक महिनादेखि देखा परेका थिएनन्। यस विषयमा उनको मन्त्रालय पनि मौन रहँदै आएको सन्दर्भमा विभिन्न अनुमानहरू भइरहेका थिए।
उनलाई पछिल्लो पटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो। गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङका विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो।
उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन। तर राष्ट्रपति सीको निर्देशनमा गाङलाई पदमुक्त गरिएको सिन्ह्वाको समाचारमा जनाइएको छ।































