लुम्बिनी मायादेवी मन्दिर जीर्णोद्धारमा उपाध्यक्ष डा. लामाले ७ करोड सहयोग गर्ने निर्णय

काठमाडौं । भगवात गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धार तथा विस्तारका लागि लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने भएका छन् ।
विकास कोषको शुक्रबर बसेको बैठकमा बौद्ध धर्म दर्शनका प्रवर्तकसमेत रहेका डा. लामाले नेपाल सरकारको आर्थिक सहयोग विना र दाताहरुको समेत सहयोग नलिई मायादेवी मन्दिर जीर्णोद्धारको प्रस्ताव राखेका थिए ।
उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने र त्यसमा उपाध्यक्षबाट ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको हो ।
हाल मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने अवस्था छ । कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा रहेकाले कोष खडा गरेर यसको जीर्णोद्धार गरिने उपाध्यक्ष लामाले बताए । यसमा सरकार र दाताको पैसा लिइने छैन ।
बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा राख्न अर्को बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ ।
हेर्नुहोस् निर्णयसहित
२६ साउन २०८०, शुक्रवार १७:४४ बजे प्रकाशित