लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा राष्ट्रिय सहमतिको ब्यक्ति हुनुहुन्छ : मन्त्री किराति
वि.सं.२०८० भदौ १७ आइतवार २२:१७
shares

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त ल्हारक्याल लामा राष्ट्रिय सहमतिको मान्छे भएको टिप्पणी गरेका छन्।
प्रेस सेन्टर मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ल्हारक्याल खासमा विवादित व्यक्ति नभए पनि विवादित बनाइएको बताएका हुन् ।
‘ल्हारक्याल लामा त राष्ट्रिय सहमतिको मान्छे हो, ल्हारक्याल लामा खासमा विवादित मान्छे होइन, विवादित बनाइयो’ मन्त्री किरातीले भने, ‘नेपाली कांग्रेसको पालामा गुम्बा विकास समितिको अध्यक्ष चलाउनुभयो, नेकपा एमालेको पालामा त संविधानसभाको सदस्य र अर्थ राज्यमन्त्री पनि चलाउनुभयो, त्यही बेला अलिक विवादित हुनुभयो, तर अदालत र कुनै पनि संवैधानिक निकायले उहाँलाई दोषी प्रमाणित गर्न सकेन, संवैधानिक निकायले दोषी प्रमाणित गर्न नसकेपछि मान्छे सधैं अभियुक्त त रहँदैन ।’
ल्हारक्याललाई योग्यता र क्षमताकै कारण लुम्बिनी विकास कोषमा नियुक्त गरेको मन्त्री किरातीले बताए । ‘ल्हारक्याल लामा त आफैं बुद्धिजममा पीएचडी गरेको मान्छे बुद्धिस्ट समुदायको अन्तर्राष्ट्रिय महासचिव मान्छे, संविधानसभाको दुई पटक सदस्य भएको मान्छे हो’ उनले भने, ‘त्यसमा पनि हाम्रो पार्टीको केन्द्रीय सदस्य भइसकेको मान्छेलाई नियुक्त गर्नु त एकदम जायज काम गरेको हो, विस्तारै कुरो खुल्दै गयो मान्छेहरु स्पष्ट हुँदै गए ।’































