एकै पटक ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
वि.सं.२०८० भदौ २० बुधवार १४:०१
shares

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताए ।
विद्युतीय सवारी साधनको प्रवर्द्धन नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न कार्य भइरहेको बताए ।
आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए ।
विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । उनले प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको समेत जानकारी दिए ।
चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।






























