प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरद्वारा आसरा सुधार केन्द्र फुलबारीको समुद्घाटन कार्यक्रम सम्पन्न
धनगढी । प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरद्वारा आसरा सुधार केन्द्र फुलबारीको समुद्घाटन कार्यक्रम सम्पन्न गर्नु भएकाे छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले लागु औषध प्रयोगकर्ताहरुलाई लक्षित गरी उपचार, परामर्श तथा समाजमा पुनर्स्थापित गर्ने उद्देश्य राखी कैलाली र कञ्चनपुर जिल्लाका स्थानिय तहहरुको साझेदारीमा पुर्स्थापना केन्द्रको रुपमा धनगढी उपमहानगरपालिका अन्तर्गत वडा नं. १४ स्थित जेष्ठ नागरिक भवनमा आसरा सुधार केन्द्र फुलबारी कैलाली संचालन गर्न धनगढी उपमहानगरपालिकाका संग २० वर्षको लागि २०८०।०६।०१ गते कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहरा र धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमालबिच सहमती पत्र (MOU) मा हस्ताक्षर भई आज एक समारोहका बीच संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरद्वारा समउद्घाटन गर्नु भएकाे हाे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँर ज्यूले आसरा सुधार केन्द्र फुलबारी कैलाली स्थापनामा महत्वपूर्ण सहयोग पुर्याउने बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भयो । सो क्रममा आसरा सुधार केन्द्र फुलवारी कैलाली स्थापना गर्न सहयोग पुर्याउने बिभिन्न संघ संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्दै हाललाई २० वर्षको लागि सम्झौता भएता पनि यस संस्थाले निरन्तरता पाउनेमा विश्वस्त रहेको कुरा जानकारी गाराउनु भयो । अन्य ठाउँमा संचालन भएका आसरा सुधार केन्द्रहरु जस्तै यस शाखाले पनि आफ्नो बिशिष्ट पहिचान बनाउने बिश्वास व्यक्त गर्नु भयो ।
बिभिन्न कुलतमा फसेका ब्यक्तिहरुलाई उपचार र बिभिन्न सुधारात्मक उपायबाट समाजमा पुनर्स्थापना गर्ने उद्देश्यका साथ स्थापना भएको आसरा सुधार केन्द्रको कार्यको सराहना ब्यक्त गर्नु भयो । कुलतमा फसेका व्यक्तिहरुलाई सही बाटोमा ल्याउने सामाजिक दायित्व हामी सबैको भएको बताउदै हाल बिश्वव्यापी रुपमा यसको उत्पादन, बिक्री बितरण, ओसारपसारले गम्भिर चुनौति सृजना गरेको र सिमावर्ती जिल्ला पुर्वमा झापा र पश्चिममा कैलाली,कञ्चनपुर उच्च जोखिममा रहेकोले यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले रणनितीक रुपमा कार्ययोजना बनाई चेतनामुलक कार्यक्रम, कानूनि कारवाही र उपचारात्मक माध्यमबाट अगाडि बढीरहेको बताउनु भयो। उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका नगर प्रमुखज्यू, कैलाली कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु, शिक्षाबिद् एवं नाष्ट कलेजका प्रमुख ज्यूबाट शुकामना मन्तब्य ब्यक्त भएको थियो भने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यूले प्रमुख अतिथि ज्यू लगायत उपस्थित सम्पुर्ण महानुभावहरुमा धन्यबाद एवं हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो।
सो क्रममा प्रदेश प्रहरी प्रमुख ज्यूले नेतृत्व समाहल्दै गर्दा शुरुको दिन देखी आज सम्म प्राथमिकतामा रहेका प्रमुख बिषयहरुमा सहज पहुँच शिघ्र प्रहरी सेवा, भन्सार चोरी निकासी नियन्त्रण, गुण्डागर्दि नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागु औषध बिरुद्धको महाअभियान र महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी मुद्दाहरु रहेको र सो बिषयमा निर्मम रुपमा कानूनि कारवाही अगाडी बढाईरहेको बताउनु भयो ।
सो क्रममा निर्धारित उद्देश्य बमोजिम हाल सम्म प्रभावकारी प्रहरी परिचालन गरि बिगत ९ महिना देखी हाल सम्म कुनै गम्भिर अपराध नघटेको, भन्सार चोरी निकासीलाई पुर्ण रुपमा नियन्त्रण गर्ने प्रयास बमोजिम आर्थिक वर्षको ५ महिना मै ६ करोड ७८ लाख बराबरको राजश्व संकलन गरिएको छ भने गत वर्षमा वर्षभरी ४ करोड २७ लाख बराबरको राजश्व संकलन भएको बताउदै आसरा सुधार केन्द्र फुलवारी कैलालीको स्थापनामा महत्वपुर्ण सहयोग गर्ने संघ संस्था एवं ब्यक्तित्वहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा स्थानिय तहका प्रमुखहरु, प्रदेश स्तरीय सुरक्षा समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमति संघकी केन्द्रिय अध्यक्ष, केन्द्रिय प्रहरी प्रबक्ता, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष, बिभिन्न राजनितिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्तरिय सुरक्षा निकायका प्रमुखहरु, पुर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश कार्य समितिका पदाधिकारीहरु, स्थानिय भद्रभलादी संचारकर्मि, शिक्षक बिद्यार्थी एवं स्थानियबासीहरु समेत ६०० जनाको उपस्थिति रहेको थियो ।
११ पुस २०८०, बुधवार २०:३९ बजे प्रकाशित