कराते आधारभूत तालिम ५९ औँ समूहको समापन कार्यक्रम सम्पन्न

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित कूल १५६ कार्यदिनको कराते आधारभूत तालिम ५९ औँ समूहको आज प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद संघका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा एक समारोह बिच समापन कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रममा दीक्षित भई जाने प्रशिक्षार्थीहरूबाट कराते सम्बन्धि बेसिक कला एवं काता तथा उत्कृष्ट खेलाडी छनोटका लागि कुमिते खेलहरू समेत प्रदर्शन भएका थिए । यसका साथै नेपाल सितोरियो कराते संघसँग समन्वय गरी ३-प्रशिक्षक (3rd Dan), २-प्रशिक्षार्थी (2nd Dan) र बाँकी २७ जना प्रशिक्षार्थीहरूलाई (1st Dan) ब्ल्याक बेल्टको परीक्षा समेत लिइएकोमा सबै सफलतापूर्वक उत्तीर्ण भएकाले यसै समारोहमा प्रमुख अतिथिद्वारा ब्ल्याक बेल्ट समेत प्रदान गरिएको थियो । प्रशिक्षार्थीहरूलाई निर्देशन सम्बोधनको क्रममा यस तालिमबाट प्राप्त गरेका ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्र र व्यक्तिगत जीवनमा पनि सहि सदुपयोग गर्न आग्रह गर्दै विभिन्न तालिम केन्द्रहरूमा जाने प्रशिक्षार्थीहरूलाई प्रशिक्षकको भूमिका निर्वाह गर्न प्रमुख अतिथिले निर्देशन दिनुभयो ।
साथै प्रतिष्ठान भावी समयमा स्थानान्तर हुन गइरहेकोले भोलिका दिनमा भौतिक पूर्वाधार लगायत अन्य सुविधाका आयामहरूमा परिवर्तन आउने र तालिम अझ सहज हुने जानकारी समेत गराउनु भयो । यस समूहबाट दिक्षित हुने प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानको पहल तथा समन्वयबाट प्राप्त दुई वटा सर्टिफिकेटको औचित्यलाई औँल्याउँदै यसको कदर स्वरूप प्रशिक्षार्थीहरूले आफ्नो व्यवसायीक जीवनमा कराँते प्रशिक्षणमा सिकेका कलाको उच्चतम प्रयोग गरेर प्रहरी कार्वाही तथा आत्मरक्षा जस्ता संवेदनशील विषयहरूमा विवेक पुर्याएर कार्य गर्नु पर्ने बताउनु भयो । कार्यकारी निर्देशकले तालिमलाई सफलतापूर्वक सम्पन्न गराउने प्रशिक्षक वर्ग तथा दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई बधाई एवम् शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, उप-निर्देशकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षक वर्ग तथा अन्य तालिमका प्रशिक्षार्थीहरू समेतको उपस्थिति रहेको थियो ।
२० माघ २०८०, शनिवार १०:११ बजे प्रकाशित