रुपन्देहीको सियारी गाउँपालिका अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण
वि.सं.२०८० माघ १५ सोमवार २३:१८
4.37K
shares
shares

तिलोत्तमा । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का दर्जन बढी अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवम् सियारी गाउँपालिका रुपन्देहीको समन्वयमा सोमबार एक कार्यक्रमकाबीच स्थानीयलाई पुर्जा हस्तान्तरण गरिएको हो ।
उक्त पुर्जा वितरण कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफूहरु निर्वाचनमा होमिँदा गरेको वाचामध्येको पुर्जा वितरण कार्य सुरु गर्न पाएकोमा खुसी लागेको बताए ।
उनले आगामी दिनमा थप स्थानीयलाई आवश्यकता र मिल्ने आधारमा लालपुर्जा दिने कामका लागि लागिपर्ने बताए । निर्वाचित भएको ६ महिना बितिसकेपछि भूमि आयोगसँग समन्वय गरेर सियारी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर जग्गा नाप्ने काम भएको उनको भनाइ छ ।
अध्यक्ष घिमिरेले आफूहरु निर्वाचित भएको ६ महिनामा २५० वटा लालपूर्जा वितरण गरेको जनाए । उनले फागुन मसान्तसम्म सियारीमा ४५० वटा लालपूर्जा वितरण गरिने बताए ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका राजनीतिक प्रतिनिधिहरु, रुपन्देही जिल्ला प्रहरी कार्यलय प्रमुख एसपी भरत बहादुर बि.क समाजसेवी बुद्धिजिवि बर्ग लगाएतकाे उपस्थिति रहेकाे थियाे ।































