गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठि सम्पन्न

3.78K
shares

पाेखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार पोखरामा आयोजित कार्यक्रम बीच नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप यही माघ १९ गते देखि सुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले गोष्ठीलाई सम्बोधन गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानुनहरुको निर्माण गर्दै शान्ति भंग गर्ने र संविधान विरुद्ध काम गर्नेहरु प्रती कडा रुपले प्रस्तुत हुने नीति अवलम्बन गरिएको बताउनुभयो । साथै सबै प्रकारका अपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिँदै गृहमन्त्री श्रेष्ठले जुनसुकै परिस्थितीको सामना गर्न सुरक्षाकर्मीहरु तयार रहन आवश्यक रहेको समेत बताउनु भएको थियो ।

समारोहमा गृहसचिव दिनेश भट्टराईले सबै सुरक्षा निकायहरुले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानुन विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने विचार व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । यस संगै पाण्डेले नेपाल प्रहरीलाई पनि छिट्टै संघियताको संरचना तर्फ लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, गृह मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधि, गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।