सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी युनिट ईन्चार्जहरुलाई निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित सिमानाकामा रहेका प्रहरी युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।
उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा समिक्षा गर्दै , आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो ।
निर्देशन सम्बोधनको क्रममा उहाँले नेपाल भारतको सिमानाकाबाट हुने भन्सार चोरी तस्करी तथा सिमानाकामा हुने अपराधिक गतिविधिका विरुद्ध प्रभावकारी प्रहरी परिचालन र कानून कार्यान्वयन गर्ने, लागू औषधको ओसार पसार, बिक्री बितरण नियन्त्रण गर्ने, सवारी दुर्घटना नियन्त्रणका लागि बिशेष सक्रिय देखाउने, नियमित रुपमा चेकजाँच गर्ने,फरार अपराधीहरूको खोजी,सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध विकास गरी नागरीक मैत्री सेवा प्रवाह गर्न निर्देश दिनु भयाे ।
साथै गैह्र व्यवसायिक आर्थिक लाभ र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नहुने , उच्च अनुशासन र मनोवलका साथ त्रुटीरहित ढंगबाट कार्य गर्ने , प्रभावकारी सूचना संकलन एवं विश्लेषण गरी गुणस्तरीय र जनसहभागिता मूलक प्रहरी सेवा प्रदान गर्ने लगायतका विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर तथा मातहत सिमानाकाहरुमा प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत ,ट्राफिक प्रहरी पोष्ट ईन्चार्जहरु लगायत प्रहरी कर्मचारीहरु उपस्थिती रहेको थियो ।
२० माघ २०८०, शनिवार १८:२७ बजे प्रकाशित