नि:शुल्क प्राथमिक उपचार तथा पानी वितरण कार्यक्रम सम्पन्न

पोखरा । अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरेको नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेशले “सेवा नै धर्म हो ” भन्ने उदेश्यका साथ गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको सहकार्यमा लमजुङ जिल्लाको पवित्र धार्मिक स्थल करापुटार स्थितमा रहेको ईशानेश्वर महादेव मन्दिर महाशिवरात्री मेलामा नि:शुल्क प्राथमिक उपचार तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
हरेक वर्ष विश्वव्यापी रुपमा मनाईने नारी दिवशलाई नारा र र्यालीमा मात्र सिमित नबनाई महिलाहरुको सुरक्षा र आत्म सम्मानका लागि पृथक तवरका कार्यक्रहरु सञ्चालन गरी मनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा लमजुङ जिल्लाको करापुटार स्थित ईशानेश्वर महादेव मन्दिरमा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका बिशेषज्ञ चिकित्सकहरुद्वारा नि:शुल्क प्राथमिक उपचार पश्चात् औषधी बितरण गर्नुको साथै पवित्र धार्मिक स्थलमा महाशिवरात्रीको अवसरमा भक्तजनहरुलाई खानेपानी समेत बितरण गरिएको थियो ।
नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष कमला खनालको अध्यक्षता र संघका अन्य पदाधिकारीहरुको उपस्थितीमा नि.शुल्क प्राथमिक उपचार, स्वास्थ्य परामर्स तथा खानेपानी बितरण गरि उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
महाशिवरात्रीकै अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालले समेत उक्त धार्मिक स्थलको अवलोकन गर्नुभएको थियो ।
२६ फागुन २०८०, शनिवार ११:५१ बजे प्रकाशित