सर्लाही जिल्ला प्रहरी कार्यलयद्वारा २०२ जना फरार अपराधी पक्राउ गर्न सफल

काठमाडौं । यतिबेला सर्लाही प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रीत छ । वर्षौंअघि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।
जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार मात्रै २०२ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
उनीहरूलाई शुक्रबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए ।
पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित छन् ।
आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएको अभियानमा एकैदिन २०२ फरार अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी ज्ञवालीले बताए ।
‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानूनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने, ‘हामी पुराना फाइल हेर्दैछौं । दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौं ।’
प्रहरीका अनुसार फरार भइ हालसम्म पक्राउ पर्नेहरुमा ५ दिनदेखि ३ वर्ष ६ महिनासम्म कैद सजाय तोकिएका र एक सय रुपैयाँदेखि ३ लाख ६३ हजारसम्म जरिवाना तोकिएका व्यक्ति छन् ।
गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले समेत आफ्नो व्रिफिङमा जतिसक्दो धेरै फरार अपराधीहरुलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
२ चैत २०८०, शुक्रवार २०:२५ बजे प्रकाशित