संगठनको नीति अनुसारको काम फिल्डमा हुनुपर्छ : आईजीपी बसन्त कुँवर

5.28K
shares

काठमाडौं ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नयाँ परिवेश बमोजिम प्रहरी संगठनले लिएको नीति अनुसार प्रहरी अधिकृतहरूले फिल्डमा काम गर्नुपर्ने बताउनुभएको छ ।

हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा पेशागत र व्यवसायिक सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको स्वार्थलाई माथि राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा नतिजा आउने गरी जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । नयाँ कार्यक्षेत्रमा खटिएपछि त्यहाँको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै लागूऔषध नियन्त्रण तथा रोकथाम, गुण्डागर्दी, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कडाईका साथ कानूनी दायरामा ल्याउन मातहत प्रहरी कर्मचारी तथा कार्यालयहरूलाई समेत क्रियाशील बनाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

यस अघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083