राष्ट्रिय बाणिज्य बैंकद्वारा नेपाल प्रहरीलाई एम्बुलेन्स र शव वाहन प्रदान
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरीलाई २ वटा एम्बुलेन्स र २ वटा शव वहान गाडी प्रदान गरेको छ । बिहिवार आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गरेका थिए । घटना र दुर्घटनामा तत्काल उद्धार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने प्रहरी महानिरीक्षक कुँवरले बताए ।
प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने प्रहरी महानिरीक्षक कुँवरले चर्चा गरेका थिए ।
प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने विचार व्यक्त गरेका छन् । नेपाल प्रहरीमा स्रोत र साधनको कमी ठूलो चुनौतीको रूपमा रहेको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने विश्वास प्रहरी महानिरीक्षक कुँवरले गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने विचार व्यक्त गरेका थिए । कार्यक्रमले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वास खनालले व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका उप कार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।
२४ जेठ २०८१, बिहीवार १८:५६ बजे प्रकाशित