सरकारमा हुँदा गरेका राम्रा कामहरु जनतामा लिएर जान अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन
वि.सं.२०८१ साउन २ बुधवार १४:२१
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश प्रतिगमन तर्फ जान सक्ने आशंका व्यक्त गरेका छन् । आफु नेतृत्वको सरकार ढालेर संसदका ठूला दल कांग्रेस र एमालेले दुई तिहाइ बहुमतको सरकार बनाएपछि अध्यक्ष प्रचण्डको यस्तो प्रतिक्रिया आएको छ ।
नयाँ गठबन्धनले संविधान संशोधनका नाममा जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता विषय उल्ट्याउन सक्ने प्रचण्डले आशंका गरेका हुन् ।
अहिलेको सत्ताधारी गठबन्धनले स्थिरताका लागि भन्दै निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन गर्ने सार्वजनिक गरेको छ । यसको अर्थ समावेशिता र धर्मनिरपेक्षता जस्ता विषयबाट अहिलेको सत्ता गठबन्धन पछि हट्न खोजेको प्रचण्डले बताए ।
बालुवाटारबाट माओवादी अध्यक्ष प्रचण्ड खुमल्टार सरेपछि माओवादीको विद्यार्थी संगठनका नेताहरु उनलाई भेट्न पुगेका थिए ।
‘यो सरकारबाट सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, सेवामुलक र समृद्धिको क्षेत्रमा नयाँ रेकर्डहरु बन्दै जाँदा संसदका पहिलो र दोस्रो पार्टी अप्राकृतिक ढंगले मिलने । सुशासनको डरले दुई पार्टी मिलाए । अव हाम्रो काम संगठन सुदृढ र विस्तार गर्ने आधार तयार भएको छ । अव हामिले यो आधारमा जानु पर्छ । विद्यार्थीको राष्ट्रिय सम्मेलनका सन्दर्भमा पनि हाम्रा कुरा जनतामा लिएर जानुपर्छ,’ उनले भने ।
जम्बो टोलीसहित विद्यार्थीका नेता पनव कार्कीले आज विहान प्रचण्डसँग खुमल्टारमा छलफल गरेको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले देश प्रतिगमन तर्फ जानसक्ने खतरा औंल्याएको र युवा विद्यार्थीहरु चनाखो भएर बस्न आग्रह गरेको नेता पवन कार्कीले बताए ।

संविधान संशोधन नै गर्नुपर्ने अवस्थामा माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डासहित समावेशी, समानुपातिक, संघीयतालाई बलियो बनाउने र धर्मनिरपेक्षता स्थापित गर्ने एजेण्डासहित अघि बढ्ने र माओवादी धारकै जित हुने प्रचण्डले विश्वास व्यक्त गरेको कार्कीले बताएका छन् ।
‘जनताले पाएका अधिकार खोसेर पश्चगमनतर्फ जाने षडयन्त्र सुरु भएको छ । त्यसका विरुद्ध हंकार गर्नुपछ । अधिकार खोस्न खोजेको अधिकारलाई प्रतिवाद र प्रतिरोध गर्नुपछ । संविधान संशोधनको कुरा अधिकार खोसेर पुरानै बाटोमा जान खोजिएको छ ।’
अध्यक्ष प्रचण्डसँगको भेटमा युवा विद्यार्थीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध सुशासनको लडाई लडेको बताए। उनीहरुले सरकारले र नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्डले खेलेको भुमिका गर्व गर्न लायक भएको भन्दै प्रशंसा गरेका थिए।
“अध्यक्ष प्रचण्ड तपाई नेतृत्वको सरकार जनपक्षिय काम गर्दा गर्दै राम्रो गरेकै कारण ढलेको छ। तपाँई भ्रष्टाचार विरुद्ध सुशासनको लडाइ लडेर आउनुभएको छ। सुशासनको नायक तपाँई हो, तपाँई प्रति गर्व छू अध्यक्ष प्रचण्डसँग युवा विद्यार्थीले भने ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले सरकारको १८ महिना नेतृत्व गरेर प्रमुख प्रतिपक्षको रुपमा बाहिर आउँदा आफुले राम्रो बाहेक नराम्रो नगरेको बताए। अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गरेर कुनै दाग नलगाईकन बाहिर निस्केको बताउँदै पार्टीलाई जनता समक्ष लैजाने आधार बनेको बताए।
विद्यार्थीका नेताहरूसँगको छलफलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता उपस्थित थिए ।































