नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Nepal Life Insurance Long Ad

काठमाडौं। नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताए ।

हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कुल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर लम्बाइ छ । त्यसमध्ये रणनीतिक महत्वका चारवटा उत्तर(दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् ।

हाल निर्माणाधीन आयोजना दार्चुला-टिङ्कर ७९ किमी, बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर (लालीबगर-बगर-दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी-किमाथाङ्का (च्याम्ताङ-घोघप्पा खण्ड) १०.५१ किमी हुन् ।
मुलुकको सर्वाधिक महत्वको काठमाडौं-तराई-मधेश द्रूतमार्ग आयोजना ९७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताए ।

सेनाले यसअघि सुर्खेत-जुम्ला ८८ किमी, बेनी-जोमसोम ९१ किमी, छिञ्चु-जाजरकोट ४५ किमी, बेंसीसहर-चामे ६५ किमी, नाग्मा-गमगढी ९४ किमी सडकको ट्रयाक खोलेको थियो ।

काठमाडौं-तराई-मधेश द्रुतमार्गको सुरु पाइलट ट्रयाक ८० किमी, मैलुङ-स्याफ्रुबेंसी १७ किमी, जाजरकोट-डोल्प दुनै ११७ किमी, कालीगण्डकी करिडोर९गुल्मी-बागलुङ खण्ड ७५ किमी र कडाली करिडोर-खुलालु-लैफू-सलिसल्ला खण्ड १२२ किमी पनि नेपाली सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन् ।

५ साउन २०८१, शनिवार १८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु