लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत

3.93K
shares

काठमाडौ । बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।

नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयको तर्फबाट सचिव डा.गणेशप्रसाद पाण्डेय सहितको नेतृत्व गर्दै टोली (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसनमा सहभागी हुन नयाँ दिल्ली पुगेको थियो ।

वल्र्ड हेरिटेज कमिटिका २१ देश मध्ये भारत सहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् । बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदा उपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरु उभिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षण विपरीतका गतिविधि र पूर्वारधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै २००२ देखी चेतावनी दिदैं आएको थियो भने २०२२ मा पत्रनै पठाएर सचेत गराएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरुले कुटनितिक पहल गरेका थिए ।

लुम्बिनीलाई खतराको सूचीमा नराख्न कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको नेतृत्वमा मन्त्रालयका सचिव, यूनेस्को तथा फ्रान्सका लागि नेपाली राजदूत सुधिर भट्टराई लगायतको कुटनितिक पहल बाट खतराको सुचीमा नराख्ने निर्णय गर्न सफल भएको हो । उपाध्यक्ष डा. लामाले नेपाल स्थित विभिन्न देशका राजदुतसँग समेत यस बिषयमा जानकारी गराउनुका साथै नयाँ दिल्लीमा जारी बैठकमा समेत लुम्बिनीलाई खतराको सूचीमा नराख्न कुटनितिक रुपमा पहल गरेका थिए ।

यूनेस्कोले सम्पदास्थलमा मापदण्ड ५ हजार क्षमताको ध्यानकेन्द्र निर्माण, मायादेवी मन्दिर जीर्ण हुँदा पानी चुहिने बारे दुई वटा विषय गम्भीर रुपमा समिक्षा भएको थियो भने आगामी दिनमा सुधार गरेर लैजान निर्देशन समेत गरेको हो ।

२१ जुलाईदेखि ३१ सम्म चलेको विश्व सम्पदा कमिटिको बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव डा. गणेश पाण्डेय, कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहभागी रहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083