नमस्ते सहकारीका ८ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी
प्रबन्धक कारागार चलान

काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारीका ८ जनालाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नमस्तेका अध्यक्ष रविन्द्र थापा, श्रद्धा मगर, सुधन पाण्डेय, जानुका सुवेदी, शनी शाक्य, दिनेश राज सिग्देल, श्रवण मगर र अर्जुन भट्टराई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नमस्ते बचत तथा ऋण सहकारीका प्रबन्धक गणेश सिजापति कारागारमा छन् । २०८० माघमा उनलाई इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएर मुद्दा चलाएको थियो । यसअघि तिनकुनेमा कार्यालय रहेको सहकारीको कार्यालय अहिले बन्द छ ।
अदालतले जेठ ६ मा प्रहरी वृत्त नयाँ बानेश्वरलाई पक्राउ गरेर पठाउन भन्दै पत्राचार गरेको हो । नमस्ते बचत तथा ऋण सहकारीका संचालकहरु विरुद्ध अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए । उनले भने,‘प्रतिवादीहरु विरुद्ध अदालतबाट म्याद पुर्जी आएको छ ।’
सञ्चालकहरूले करिब ५ करोड रकम अपचलन गरेको पीडितहरू बताउँछन् ।
१६ साउन २०८१, बुधवार १७:५४ बजे प्रकाशित