कोशी प्रदेशमा उत्कृष्ट झापाका एसपी मिलन केसी
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसी उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत भएका छन् । उनी कार्य सम्पादनमा कोशी प्रदेशमा प्रथम भएका हुन् ।
उनलाई कोशी प्रदेश प्रहरी कार्यालयले नगदसहित पुरस्कार प्रदान गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखानाको अभिलेखमा जनिने गरी पत्र लेखेको छ ।
केसीले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ मौजदा कानुनको अक्षरस पालना गरी अपराध अनुसन्धान एवम् नियन्त्रणको क्षेत्रमा विशेष योगदान पुर्याएको जनाउँदै प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले पुरस्कार प्रदान गरेका हुन् ।
यस्तै, पाँचथरका डिएसपी हेमन्त भण्डारी क्षेत्री र संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठ पनि पुरस्कृत भएका छन् । उनीहरूलाई जनही नगद १ हजार ४ सयसहित पुरस्कृत गरिएको छ ।
पछिल्लो समय झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
भन्सार दाखिला गरिएको उक्त राजश्व गत आर्थिक वर्ष २०७९/८० को भन्दा ४३.२० प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० मा ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।
भन्सार छली तथा तस्करी नियन्त्रणमा प्रहरी केन्द्रित बन्दा राजश्व संकलनको दर बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक केसीले बताए । भारतसँग सीमा जोडिएका काँकडभिट्टा, नकलबन्दा, भद्रपुर लगायत क्षेत्रमा झापा प्रहरीले तस्करी नियन्त्रण अभियान चलाइरहेको छ ।
‘सीमा क्षेत्रको मुख्य समस्या भनेको भन्सार चोरी र तस्करी हो, यसलाई नियन्त्रण गर्ने मामलामा हामी सबै रणनीति अपनाएका छौं,’ केसीले भने ।
यस्तै, झापा प्रहरी फरार अभियुक्त पक्राउमा सफल देखिएको छ । प्रहरीले फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ । जस अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा ४२७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
उनीहरूबाट १८४ वर्ष १ महिना १३ दिन कैद र ५ करोड ४ लाख ९८ हजार १४३ रुपैयाँ जरिवाना असुल भएको छ । आर्थिक वर्ष २०७९/८० मा २३० फरार प्रतिवादी पक्राउ परेका थिए । उनीहरूबाट २४७ वर्ष, एक महिना ७ दिन कैद र १ करोड २ लाख ६ हजार ३९५ रुपैयाँ जरिवाना असुल भएको थियो ।
मानिस पक्राउमा उक्त आर्थिक वर्षको तुलनामा ८५.६५ प्रतिशत र जरिवाना असुलमा ३९४.७७ प्रतिशतले वृद्धि भएको केसीले बताए ।
२० साउन २०८१, आइतवार १२:०० बजे प्रकाशित