जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोबिन्द राज काफ्ले पुरस्कृत

4.98K
shares

काठमाडौं । छोटो समयमा जिल्लाको शान्ति सुरक्षामा उल्लेखिय परिवर्तन ल्याएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेलाई सम्मान गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै काफ्लेलाई सम्मान गरेको हो ।

आफूलाई सुम्पीएको जिम्मेवारीलाई उच्च प्राथमीकता दिई इमान्दारिताकासाथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले एसपी काफ्लेलाई सम्मान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख डिआईजी बिष्णुकुमार केसीले बताए ।

एसपी काफ्लेसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइराला पनि सम्मानित भएका छन् । जिल्लाको चोरीतस्करी, लागुऔषध नियन्त्रण तथा जिल्लाको शान्ति सुरक्षामा चमत्कारी भुमिका खेलेको भन्दै एसपी कोइरालालाई सम्मान गरिएको डिआईजी केसीले बताए ।

उनीहरुसहित १५ उत्कृष्ट कर्मचारीलाई नगदसहित डिआईजी केसीले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप कुमार सिंह, प्राविधिक डिएसपी सत्य नारायण जयसवाल, प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरू दिपक सुवेदी, रविन्द्र कुमार श्रेष्ठ, दिनेश प्रसाद खरेल रहेका छन् ।

यसैगरी प्राविधिक प्रहरी बरिष्ठ निरीक्षक (सई) विजय कुमार साह, राजिव कुमार तिवारी, प्रहरी सहायक निरीक्षक (असई) पुष्पराज दुराल, प्रहरी हवल्दार मन्जु नेपाल, प्रहरी जवानहरू सन्तोष कुमार महतो र रन्जना तामाङ, खड्क चन्द , बालकिशोर शाह, प्रहरी काार्यालय सहयोगी सन्तोष राना मगर र रमेश कार्की पनि सम्मानित भएका छन् ।

बागमती प्रहरी प्रदेश कार्यालयले जानकारी दिँदै लेखेको छ, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने विभागीय नीतिअनुरुप यस प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयका निम्न प्रहरी कर्मचारीहरुले विभागीय नीति निर्देशनअनुसार आ–आफ्नो कार्यक्षेत्रमा सुम्पिएको जिम्मेवारी ईमान्दार र अनुशासित भई प्रशंसनीय एवं उत्कृष्ट ढंगबाट सम्पादन गरी संगठनको छविलाई उच्च राख्ने कार्य गरेको हुँदा निजहरुलाई नगदसहित सम्मान गरिएको हो ।

उनीहरुको उत्कृष्ट कार्यको कदर स्वरुप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुसमेतमा सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा अझ बढि हौसला अभिबृद्धि हुने हुँदा निजहरुलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद–१५ को नियम–१९७ को देहाय (ख) बमोजिम नगदपुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय भएको हुँदा अभिलेखमा रहने गरि पुरस्कार दिइएको कार्यालयले जनाएको छ ।