प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्धारा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको निरीक्षण सम्पन्न
प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न
सिन्धुली । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको निरीक्षण गर्नु भएको छ ।
प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रमको शिलसिलामा आज दुधौली, सिन्धुलीको भौतिक संरचना, आन्तरिक तथा वाह्य प्रशिक्षण कक्षाहरु लगायत सम्पूर्ण प्रशिक्षण गतिविधि निरीक्षण गर्नुका साथै विविध पक्षको स्थलगत अवलोकन गरी यस तालिम केन्द्रको हाताभित्र बृक्षारोपण समेत गर्नु भएको थियो ।
निर्देशन सम्बोधनको क्रममा कार्यकारी निर्देशकले प्रशिक्षण प्रदायक निकायहरूमा प्रशिक्षणमैत्री पूर्वाधार, समयानुकुल परिमार्जित पाठ्यक्रम तथा स्तरीय प्रशिक्षकहरू हुनुपर्ने विषयमा ध्यान दिन सके मात्र प्रशिक्षण प्रदायक निकायहरूबाट संगठनले अपेक्षा गरे अनुरुपको उपलब्धी हासिल गर्न सकिने कुरा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी., बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक प्रविण पोखरेल, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा कार्यरत सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पूर्ण प्रहरी कर्मचारी र आधारभूत तथा सेवाकालिन तालिमका प्रशिक्षार्थीहरु समेतको सहभगिता रहेको थियो ।
२५ साउन २०८१, शुक्रवार १८:३० बजे प्रकाशित