संखुवासभाको पाँचखपन नगरपालिका मलबाँसेमा भर्तिवालडाँडा अस्थाई प्रहरी पोष्टको स्थापना
वि.सं.२०८१ साउन ३१ बिहीवार १३:१०
shares

संखुवासभा । संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यतामा अस्थाई प्रहरी पोष्टको उद्घाटन गर्नु भएको छ । ग्रामिण भेगमा अपराध न्यूनीकरण गरी शान्ति सुरक्षा कायम गर्न संखुवासभा जिल्ला पाँचखपन नगरपालिका-९ स्थित मलबाँसेमा भर्तिवालडाँडा अस्थाई प्रहरी पोष्टको स्थापना भएको हो । पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रमको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले समाजमा अपराध नियन्त्रण तथा न्यूनिकरण गरी शान्ति स्थापना गर्न स्थानीय नागरिकको अहम् भूमिका रहने हुँदा भर्खरै स्थापना भएको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कानून कार्यान्वयनमा सहयोग गर्नु आम नागरिकको थप जिम्मेवारी हुने बताउनु भयो । कार्यक्रमकै अवसरमा बोल्दै पाँचखपन नगरपालिका नगर प्रमुख बिपिन राईले लामो समयदेखिको निरन्तर प्रयास पछि स्थापना भएको नयाँ अस्थायी प्रहरी पोष्ट लगायत नगरपालिका क्षेत्र भित्र रहेका अन्य प्रहरी कार्यालयहरुलाई समेत आवश्यक स्रोत साधनको व्यवस्था पालिकाले गर्दै जाने प्रतिवद्धता समेत उहाँले ब्यक्त गर्नु भयो ।

पाँचखपन नगरपालिकाको पहलमा स्थापना गरीएको उक्त अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रमको अवसरमा बोल्नु हुदै जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले आम नागरिकको आँकांक्षा बमोजिम कानून सम्मत विभागीय नीति निर्देशन बमोजिम कार्य गर्न र शान्ति सुरक्षा कायम राख्न तदारुक्ताका साथ आफ्नो जिम्मेवारी बमोजिम खटिन समेत निर्देशन दिनु भएको थियो।
इलाका प्रहरी कार्यालय वाना संखुवासभाबाट करिब २ घण्टा ३० मिनेट पैदल दुरीमा रहेको उक्त अस्थायी प्रहरी पोष्टमा तत्कालका लागि प्रहरी हबल्दार बल बहादुर भुजेलको नेतृत्वमा ५ जनाको टोली सहित खटाइएको छ ।

































