उपत्यका ट्राफिक प्रहरीद्वारा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

3.51K
shares

काठमाडौ । हराएका २७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले १९ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नु भएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पशुपति, चाबहिल, बानियाटार, बाल्कोट, अनामनगर, सानेपा, नारायणटार, गौरिघाट, नुवाकोट, बौद्ध, बल्खु र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

May be an image of 6 people, scooter, motorcycle and text

बुझाइएका २७ वटा सहित ६१ वटा सवारी साधन साउन महिनामा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ७ वटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १० जना व्यक्तिहरूलाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083