फरार इन्सपेक्टरलाई मुद्दा चलाउन सिआईबीद्वारा सिफारिस

3.21K
shares

काठमाडौं । नेपाल प्रहरीकी बदनाम इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीलाई मुद्दा चलाउन सिआईबीले सिफारिस गरेको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर शाहीलाई पनि प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको हो।

इन्स्पेक्टर शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। सोही अनुरुप करिब दुई महिना लामो अनुसन्धानपछि मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगेको छ।

जसमा इन्स्पेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबी (नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो) ले सिफारिस गरेको छ। जसमा दुई जना फरार छन्। गिरोहका नाइके ताज इस्लाम, उनका सहयोगी सुष्मा विक र भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल थुनामै छन्।

निलम्बित इन्स्पेक्टर शाही र इटहरीका दर्शन पोखरेललाई फरार प्रतिवादी बनाइएको छ। यस्तै सो प्रकरणमा जोडिएका एसपी कमल थापा भने तत्कालका लागि जोगिएका छन्।

उनीमाथि थप अनुसन्धान हुने सिआइबीले जनाएको छ। दुई महिनाअघि प्रहरी प्रभाग भैंसेपाटीमा जग्गा व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो।

यसमा मुछिएका एसपी कमल थापासँग सिआइबीले बयान कागज गरेको थियो। सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले उनको बयान कागज गरेको हो।

गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा मोरङका एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो। जसमा प्रभागकी तत्कालिन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको समेत मिलेमतो थियो। उनी महेन्द्रनगर कंचनपुरमा हुँदा पनि विवादित बनेकी थिइन्।

निलम्बनमा परेकी उनी डेढ महिनादेखि फरार रहेपनि प्रहरीले अनुसन्धान तथा पक्राउ गर्नेबारे चासो दिइएको छैन। उनी विरुद्ध संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान भएको थियो।

इन्सपेक्टर शाहीसहित दोषी देखिएपनी कारबाहीको दायरामा भने आउन सकेका छैनन्। सोही केसमा एसपी थापाले नै ताज इस्लामको समूहलाई इन्सपेक्टर शाहीसँग भेटाएका थिए। तर उनीमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै अहिले जोगाउन खोजिएको छ।

जबकी पैसा लेनदेनपछि पनि इस्लाम र एसपी थापाबीच डेढ घन्टा कुराकानी भएको खुलेको थियो। जसकारण उनको समेत यसमा योजना देखिएको थियो। साथै गत जेठमा ठेकदार विदुर शर्मालाई दरबारमार्ग वृत्तमा त्यसैगरी फसाइएको घटनामा समेत उनको मिलेमतो देखिएको प्रहरी स्रोतले जनाएको थियो।

तर, आफूविरुद्ध मुद्दा रोक्न उनले प्रधानमन्त्रीको सचिवालयलदेखि अख्तियारबाट समेत दबाब सिर्जना गराएको स्रोत बताउँछ।