शनिबार राती प्रहरीले मदनभण्डारी राजमार्गबाट ब्राउन सुगर सहित चार जना पक्राउ गरेको छ । शनिबार राती पौने १२ बजे गस्तीका क्रममा चेकजाँच गर्दा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय डकाहाबाट गएको गस्ती टोलीले ४ दशमलब १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गाेबिन्द राज काफ्लेले जानकारी दिए।
पक्राउ पर्नेमा दुधौली नगरपालिका १० का लक्ष्मण अधिकारी, दुधौली नगरपालिका ४ का लालबाबु अधिकारी, दुधौली नगरपालिका ९ का अमन नायक, दुधौली नगरपालिका ११ का सुमन बस्नेत रहेको काफ्लेले जानकारी दिए । उनका अनुसार मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनीहरुबाट ब्राउन सुगर बरामद गरिएको हो ।
उनीहरुले बा २६ प ९३७४ नम्बरको मोटरसाईकल प्रयोग गरेका थिए । पक्राउ परेका चार जनालाई आइतबार सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
यसैबीच प्रहरीले विहिबार राती दुधौली १ बस्ने दिपा बस्नेतलाई ३ सय ग्राम गाँजा सहित पक्राउ गरेको छ । उनको आफ्नै पसलबाट उनलाई पक्राउ गरेको हाे । उनलाई पनि आइतबार सिन्धुली अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको एसपी काफ्लेले बताए ।
यस्तै शुक्रबार राती प्रहरीले दुधौली नगरपालिका वडा नं. १ बाट वेवारिसे अवस्थामा बाँसको झ्याङमा फालिएको गाँजा समेत बरामद गरेको थियाे ।
















