रौतहट प्रहरीद्वारा फरार रहेका प्रतिवादी पक्राउ : एकैदिन २० जना फरार पक्राउ

Nepal Life Insurance Long Ad

राैतहट। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २० जना फरार प्रतिबादीहरु लाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका ११ जना, चोरी तथा डाँका मुद्दाका ३ जना, लेनदेन मुद्दाका २ जना , कुटपिट मुद्दाका २ जना तथा सवारी ज्यान र बिगो सम्बन्धी मुद्दाका एक एक गरी २० जना पक्राऊ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले बताएका छन्।

एसपी घिमिरेका अनुसार पक्राउ परेका सबैजनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको रौतहट प्रहरीको सूचनामा उल्लेख गरिएको छ। एसपीको निर्देशनमा सञ्चालित अभियान अन्तर्गत सैयौं फरार प्रतिवादीलाई पक्राउ गरिनुका साथै जिल्ला प्रहरी कार्यालय रौतहटले झण्डै २ करोड बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ ।

एसपी घिमिरेले सत्य तथ्य अनुसन्धान गरी कानूनबमोजिम कार्यान्वयन गरेकाले तुलनात्मक रूपमा प्रगति हासिल भएको बताए । उनले गत चैत २५ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हालेदेखि भन्सार तथा राजस्व छली, चोरी तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति लिई कठोर कदम चालिएकाले सकारात्मक सुधार देखिँदै गएको जानकारी दिए । चोरी तस्करीमा संलग्न व्यक्ति, सामान र साधन पक्राउ गरी भन्सार तथा राजस्वमा बुझाउँदै आएको, ठूला तस्करी गर्ने र गराउने व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर गरिएको उनले बताए ।

अपराध न्यूनीकरणसँगै सेवा प्रवाहमा सुधार गरिएको प्रहरी प्रमुख घिमिरेको दाबी छ । प्रहरी कार्यालयमा आउने पीडितलाई सेवा प्रवाहमा सहजीकरण गरी ‘भनसुनबिना काम’ हुन्छ भन्ने विश्वास दिलाइएको उनको भनाइ छ । “बिचौलियाको अभिलेखीकरण गरी त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिएको छ । गुनासो सम्बोधनका लागि कार्यालय प्रमुखसँग जनताको सिधा पहुँच स्थापित गरिएको छ । यसबाट नागरिकले सुशासन र शान्ति सुरक्षाको महसुस गरेका छन्”, उनले भने ।

एसपी घिमिरेले बेलाबखत स्थानीय स्तरमा देखिने समस्यालाई स्थानीय नागरिककै सक्रियता र सहकार्यमा समाधान गरिएकाले कुनै पनि अप्रिय घटना हुन नपाएको बताए ।

 

२५ पुस २०८१, बिहीवार १२:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु