आईजिपी बसन्त कुँवरद्वारा नवनिर्मित भवनको उद्घाटन

राैतहट। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिएको विश्वास व्यक्त गर्दै सुविधा सम्पन्न भौतिक संरचना निर्माणले प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुनुका साथै प्रहरीबाट प्रवाह हुने सेवाको गुणस्तर थप प्रभावकारी हुने बताउनुभयो ।
कानुन विपरीत गतिविधि नियन्त्रण गरी समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीको एकल प्रयासले मात्र नभई स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा मात्र सम्भव हुने उल्लेख गर्दै स्थानीय नागरिकहरूबाट जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नमा नेपाल प्रहरीलाई पूर्णरूपमा साथ एवम् सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
२६ फागुन २०८१, सोमवार २३:४३ बजे प्रकाशित