नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा पदबहाली कार्यक्रम सम्पन्न
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १९:२३
shares

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा भव्य स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकबाट आईजीपीमा नियुक्त भएका कार्कीले बिहीबार औपचारिक रूपमा ३३औं प्रहरी महानिरीक्षकको रूपमा पदभार ग्रहण गरे।
पदबहाली समारोहमा प्रहरी संगठनका वरिष्ठ अधिकृत, विभिन्न इकाइका प्रमुख, प्रहरी कर्मचारी र परिवारजनको उपस्थितिमा कार्कीलाई गार्ड अफ अनर प्रदान गरी औपचारिक स्वागत गरिएको थियो।
कार्यक्रमपछि उनले “हरियाली अभियान” अन्तर्गत वृक्षारोपण गरेर आफ्नो कार्यकालको सुरुवात गरेका छन्।
उनले वृक्षारोपणपछि सम्बोधन गर्दै भने,
“प्रहरी संगठनको गौरव, अनुशासन र जनसेवाको भावना अझ सुदृढ बनाउने मेरो प्राथमिक लक्ष्य हुनेछ।”
कार्कीको स्वागत समारोहमा उपस्थित अधिकारीहरूले पनि उनको इमानदार, अनुशासित र कर्मठ छविले प्रहरी संगठनमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन्।















