सिद्धार्थनगर नगरपालिकाद्वारा मल वितरक सहकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

9.26K
shares

सिद्धार्थनगर । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्रका मल वितरक सहकारी कम्पनीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मल वितरणका समयमा देखिएका समस्याहरू निराकरण गरी किसानहरूलाई सहज र समयमा मल उपलब्ध गराउनुपर्नेमा जोड दिइयो।

किसानहरूको खेतीयोग्य जमिन जुन स्थानीय तहमा छ, सोही पालिकामा आवश्यक कागजात पेश गरी उक्त पालिकाबाटै मल वितरण गर्ने व्यवस्थामा जोड दिइयो।

नेपाल सरकारको मन्त्रिपरिषद्बाट २०८२ साउन ७ गते स्वीकृत अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२ कार्यान्वयन गर्दै मलमा राजनीति नगरी सहकार्यमा किसानलाई सहयोग गर्न कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालयका प्रमुख सुमन पन्थीले आग्रह गरिन्।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले मल विक्रेता सहकारीहरूलाई नगरपालिकामा रहेका किसानहरूको पहिचान गरी किसान कार्डमार्फत मात्र मल वितरण गर्ने निर्देशन दिइन्।

कार्यक्रममा सहकारीहरूले वडामार्फत नभई कृषि शाखामार्फत कार्ड लागू गर्नुपर्ने माग राखे। कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले राजनीतिक हस्तक्षेपका कारण काम गर्न कठिन भएको गुनासो गरे।

नगरपालिकाले मल तथा खाद्य वितरणका समस्याहरू समाधानका लागि किसान सेवा कार्ड वितरण एवं सेवा सुविधासम्बन्धी कार्यविधि २०८१ मार्फत बाटो खोजिरहेको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले भोटका लागि नभई खेतका लागि मल आवश्यक भएकोमा जोड दिए।