सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन आईजीपीद्वारा निर्देशन

3.19K
shares

प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि उनले ‘भर्चुअल’रूपमा सोमबार मातहतका कमिटीलाई व्यावसायिक रूपमा आआफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

उनले वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमानाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकता दिन निर्देशन दिए ।

महानिरीक्षक कार्कीले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

“आ–आफ्नो जिम्मेवार क्षेत्रमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुहोला”, निर्देशन सम्बोधनमा प्रहरी महानिरीक्षक कार्कीले भने ।

त्यसक्रममा वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थिति थियो भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधि भर्चुअल रूपमा सहभागी थिए ।