डा. हरि रोका : खेतबाट संसदसम्मको वैचारिक यात्रा
वि.सं.२०८२ माघ १० शनिवार १८:२५
shares

काठमाडौ । खोटाङका चर्चित वामपन्थी नेता तथा विश्लेषक डा. हरि रोका राजनीतिक दलभित्रको विद्रोही चेतनाका कारण पुनः चर्चामा आएका छन्। राजनीतिक दलहरूले गाउँ बिर्सँदै गएको अवस्थामा उनले सांसदको पद त्यागेर पुर्ख्यौली गाउँ फर्किँदै खेतीपातीमा लाग्ने निर्णय गरेका थिए। तर अहिले फेरि नेपाली कम्युनिस्ट पार्टीको आग्रहमा खोटाङका जनताको न्यायका लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।
राजधानीमा विचार, बहस र लेखनमा सक्रिय रहेका रोका राजनीतिक निराशाबाट होइन, वैकल्पिक जीवनदृष्टिको खोजीमा गाउँ फर्किएका थिए। गाउँमै धान, मकै, कोदो, आलु तथा तरकारी उत्पादन गर्दै आत्मनिर्भर जीवनशैली अपनाएका उनले ‘गाउँमै सम्मानजनक जीवन सम्भव छ’ भन्ने सन्देश व्यवहारमै देखाए। उनको गाउँ फर्किने निर्णयले विशेषतः युवापुस्तामा सकारात्मक प्रेरणा दिएको थियो।
राजनीतिक पद त्यागे पनि रोका विचार र कलमबाट कहिल्यै अलग भएनन्। खेतमा पसिना बगाउँदै लेखनलाई निरन्तरता दिने उनको जीवनशैलीले समाजलाई नयाँ दृष्टिकोण दिएको छ। उनी भन्छन्, “राजनीतिले नीति बनाउँछ, तर उत्पादनले जीवन चलाउँछ।”
अचानक नेपाली कम्युनिस्ट पार्टीले खोटाङका जनताको पक्षमा न्यायपूर्ण आवाज उठाउन सांसदको टिकट बुझिदिन आग्रह गरेपछि रोका उम्मेदवार बनेका हुन्। सांसद बनेर जिल्लालाई ‘बेहुली झैँ सिंगार्ने’ उनको चाहना छ। विकास, उत्पादन र आत्मनिर्भरताको नीतिलाई राज्यस्तरमा स्थापित गर्ने उनको लक्ष्य रहेको छ।
आफ्नो यात्राबारे रोका भन्छन्, “म यहाँ फर्केर हारेँ जस्तो लाग्दैन, बरु जीवनको अर्को जित सुरु भएको जस्तो लाग्छ।”
डा. हरि रोक्काको जीवनकथा केवल व्यक्तिगत परिवर्तनको कथा होइन, गाउँमै सम्भावना खोज्ने सामाजिक क्रान्तिको प्रतीक बनेको छ।
















