नयाँ दलप्रति ओलीको टिप्पणी: ‘भोलि उठी कहाँ जाने, केही थाहा छैन’
वि.सं.२०८२ माघ १० शनिवार १८:१७
shares

१० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्य अनिश्चित रहेको टिप्पणी गरेका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ दलहरूको यात्रा नै अन्योलपूर्ण रहेको बताए ।
ओलीले गायक नारायणगोपालको गीत स्मरण गर्दै नयाँ दलप्रति कटाक्ष गरे ।
‘सायद नारायणगोपालले गाउनुभएको होला— भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन,’ ओलीले भने, ‘उहाँ (नयाँ दल) हरूको यात्रा पनि त्यस्तै हो । भोलि कहाँ जाने, त्यो पनि थाहा छैन ।’
उनले आफूले नयाँ भनिएका दलका एक नेताको फेसबुक स्टाटस देखेको भन्दै त्यसप्रति आपत्ति जनाए । उक्त स्टाटसमा आफूलाई ‘माटोमुनि गाडिदिनुपर्छ’ भन्ने आशय व्यक्त गरिएको उल्लेख गर्दै ओलीले त्यसलाई गैरजिम्मेवार र अराजनीतिक सोचको संज्ञा दिए ।
‘एउटा स्टाटस हेरेको थिएँ मैले, अहिलेका नयाँहरूले लेखेका छन्— केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई माटोमुनि गाडिदिनुपर्छ । कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति !’ ओलीले भने ।
ओलीले अहिले देश बनाउने र देश जलाउने शक्तिहरूबीच संघर्ष चलिरहेको दाबी गरे ।
‘कस्तो पवित्र भावना ! मान्छेलाई ज्युँदै गाडिदिने कुरा गर्छन्,’ उनले भने, ‘अहिले देश जलाउने र बनाउनेबीच लडाईं छ । हामी देश बनाउने काममा जुट्नुपर्छ ।’















