पाकिस्तानको चित्रालमा हिमपहिरो
९ जनाको मृत्यु, १ बालकको जीवितै उद्धार
वि.सं.२०८२ माघ १० शनिवार १८:०२
shares

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने एक जना बालकलाई जीवितै उद्धार गरिएको छ । अधिकारीहरूले उक्त जानकारी दिएका छन् ।
घटना जिल्लाको एक दुर्गम पाहाडी क्षेत्रमा भएको हो, जहाँ भारी हिमपातका कारण आएको हिमपहिरोले एउटै परिवारका १० जनालाई हिउँ र भग्नावशेषमुनि पुरेको उद्धार अधिकारीहरूले बताएका छन् । उद्धार प्रवक्ता बिलाल फैजीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्हुवाले यो खबर जनाएको हो ।
उद्धार टोलीले कडा प्रयासपछि भग्नावशेषबाट एक बालकलाई जीवितै निकाल्न सफल भए पनि अन्य नौ जनाको घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ ।
भारी हिमपात र चरम मौसमका कारण पाहाडी क्षेत्रमा हिमपहिरो लगायतका प्राकृतिक प्रकोपको जोखिम उल्लेखनीय रूपमा बढेको अधिकारीहरूले बताएका छन् । स्थानीय बासिन्दालाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस क्षेत्रमा प्रतिकूल मौसमको अवस्था अझै जारी रहेकाले सम्भावित थप घटनालाई ध्यानमा राख्दै उद्धार टोलीलाई उच्च सतर्कतामा राखिएको अधिकारीहरूले जनाएका छन् ।
















