विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

715
shares

१० माघ, काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका अग्रवाललाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

ओलीले अग्रवाललाई खादा र टीका लगाएर औपचारिक रूपमा पार्टी प्रवेश गराएका थिए ।

अग्रवाल यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परिसकेका व्यक्ति हुन् । सीआईबीले उनलाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार गरेको तथा बजारलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

उनमाथि नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । करिब १० दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो ।

अनुसन्धानका क्रममा अग्रवालले सस्तोमा सेयर खरिद गर्ने झुटो प्रचार गरेर सेयरको मूल्य बढाइ पछि बिक्री गर्ने गरेको खुलेको थियो । उनी आफूले सेयर किनेपछि सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई खरिद गर्न उक्साउने र निश्चित मूल्यसम्म पुर्‍याइदिने भन्दै झुट्टा आश्वासन दिने गरेको बताइन्छ ।

त्यस्तै उनले अन्य व्यक्तिका कारोबार खाता पनि आफैं सञ्चालन गर्ने, धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने रकमका विषयमा विवाद झिकेर भुक्तानी नगर्ने गरेको आरोप पनि लागेको छ ।

आफ्नै एक कारोबार खाताको रकम अर्को व्यक्तिको खातामा ट्रान्सफर गर्ने जस्ता गतिविधि गरेपछि उनीविरुद्ध धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

विवादित पृष्ठभूमि भएका अग्रवालको एमाले प्रवेशलाई लिएर राजनीतिक तथा लगानीकर्ता वृत्तमा चासो र चर्चा सुरु भएको छ ।