हरित यातायाततर्फ महिन्द्राको कदम: रुपन्देहीमा बीई–६ र एक्सईभी ९ई बिक्री सुरु

3.35K
shares

रुपन्देही — महिन्द्राका विद्युतीय एसयूभी बीई–६एक्सईभी ९ई रुपन्देहीमा औपचारिक रूपमा सार्वजनिक भएसँगै बिक्री सुरु गरिएको छ। हेटौंडा, वीरगञ्ज र चितवनपछि अग्नि ग्रुपको सहायक कम्पनी तथा नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि आस्था प्रा.लि. ले तिलोत्तमा नगरपालिका–९ स्थित भलवारीबाट यी विद्युतीय सवारीको बिक्री थालेको हो।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भलवारी शोरुमलाई नेपालको सातौं महिन्द्रा शोरुमका रूपमा उद्घाटन गर्दै नयाँ विद्युतीय एसयूभीहरू बजारमा ल्याइएको हो।

सो अवसरमा बोल्दै अध्यक्ष कार्कीले समय र आवश्यकताअनुसार विद्युतीय सवारी ल्याउनु सकारात्मक कदम भएको बताउनुभयो। पेट्रोलियम पदार्थमा निर्भरता घटाउँदै व्यापार घाटा कम गर्न विद्युतीय सवारीले योगदान पुर्‍याउने उहाँको भनाइ थियो। महिन्द्रा ब्राण्ड नेपाली बजारमा पहिलेदेखि नै परिचित रहेकाले नयाँ विद्युतीय गाडीले पनि राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो।

कम्पनीका अनुसार रुपन्देही र आसपासका बजारलाई लक्षित गर्दै अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभी बीई–६एक्सईभी ९ई सार्वजनिक गरिएको हो। पेट्रोलियम सवारीमा उत्कृष्टता हासिल गरेको महिन्द्राले ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै विद्युतीय सवारी विस्तार गरिरहेको जनाएको छ।

प्रोडक्ट म्यानेजर सागर भट्टराईका अनुसार भारतमा उच्च श्रेणीमा सूचीकृत यी सवारीमा ७ वटा एयरब्याग रहेका छन्। महिन्द्रा र सुरक्षाबीचको सम्बन्धलाई बलियो बनाउँदै यी एसयूभीहरू ‘इङ्ग्लो प्लेटफर्म’ मा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मानिने ‘माया’ प्रणालीबाट सञ्चालन हुने उहाँले जानकारी दिनुभयो।

भलवारी शाखा प्रमुख प्रज्वल अर्यालले बीई–६ र एक्सईभी ९ईले पर्फमेन्स, इन्टेलिजेन्स, आधुनिक डिजाइन र दिगोपनालाई एकसाथ समेटेको बताउनुभयो। यसले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।

अग्नि ग्रुपका सेल्स डाइरेक्टर बरदान बस्नेतले विगत ३५ वर्षदेखि महिन्द्रा ब्राण्डलाई नेपालमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्नुभयो। समयसापेक्ष नयाँ प्रविधि अपनाउँदै आएको महिन्द्राले जलस्रोतमा धनी र विद्युत उत्पादन बढिरहेको नेपालमा विद्युतीय सवारीको सम्भावना अझ व्यापक रहेको उहाँले बताउनुभयो।

लुम्बिनी प्रदेश प्रमुख रामेश्वर महर्जनले तिलोत्तमालाई सफा र सुन्दर शहरका रूपमा उल्लेख गर्दै यही स्थानबाट विद्युतीय सवारी सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताउनुभयो। कम्पनीका अनुसार हाल ५९ किलोवाट–आवर ब्याट्री भएको भेरियन्टको प्रारम्भिक मूल्य ५७ लाखदेखि ६८ लाख रुपैयाँसम्म तोकिएको छ। कार्यक्रममा ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083