मूल्यवृद्धि विरुद्ध बानेश्वर बहुमुखी क्याम्पसमा मसाल जुलुस प्रदर्शन

3.51K
shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा स्वतन्त्र विद्यार्थी यूनियन, बानेश्वर बहुमुखी क्याम्पस तथा संयुक्त विद्यार्थी संगठनको संयुक्त आयोजनामा आज मसाल जुलुस प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पेट्रोल, डिजेल तथा ग्यासको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको थियो। सहभागीहरूले वर्तमान सरकारको मूल्यवृद्धि जनविरोधी भएको भन्दै तुरुन्त फिर्ता लिनुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, विद्यार्थी संगठन खारेज गर्ने तथा स्वतन्त्र विद्यार्थी यूनियनसम्बन्धी संशोधन गर्ने सरकारकाे निर्णयप्रति पनि कार्यक्रममार्फत कडा आपत्ति जनाइएको थियो। वक्ताहरूले उक्त निर्णय लोकतान्त्रिक अधिकारविरुद्ध भएको उल्लेख गर्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

कार्यक्रममा भुमिराज अधिकारी (स्ववियु अध्यक्ष) ले मन्तव्य राख्दै विद्यार्थीहरूको हक–हितमाथि प्रहार गर्ने कुनै पनि निर्णय स्वीकार्य नहुने स्पष्ट पारे। उनले मूल्यवृद्धिले आम विद्यार्थी तथा नागरिकको जीवन कष्टकर बनाएको भन्दै आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए।

यसैगरी, कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका नेतृत्व तथा प्रतिनिधिहरूले पनि आफ्नो धारणा राखेका थिए।
मसाल जुलुसमा स्ववियु पदाधिकारी, सदस्यहरू, क्याम्पसमा क्रियाशील विभिन्न विद्यार्थी संगठनका अध्यक्ष, संयोजक, प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।