निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा
वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१४
shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारसम्बन्धी विषयमा चौतर्फी आलोचना बढेपछि उनले आज प्रधानमन्त्री बालेन शाह लाई भेटेर राजीनामा बुझाएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै गुरुङले आफूमाथि उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि आफू तयार रहेको स्पष्ट पारे।
‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ उनले भनेका छन्। पछिल्लो समय सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने उनको धारणा छ।
गुरुङले आफू पदमा रहँदा छानबिन गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने भएकाले राजीनामा दिएको बताए। ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै असर नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएको हुँ,’ उनले उल्लेख गरेका छन्।
उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको पनि बताएका छन्। साथै, सञ्चारकर्मी र आम नागरिकलाई सत्य र इमानदारीको पक्षमा उभिन आग्रह गर्दै केही मिडियामा समेत ‘स्वीट शेयर’ सम्बन्धी विषय बाहिर आउने संकेत गरेका छन्।
















