बागमती प्रदेश बक्सिङ संघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

बागमती प्रदेश सभा सदस्य तथा पूर्व पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न

2.33K
shares

काठमाडौ । बागमती प्रदेश बक्सिङ संघको दोस्रो साधारण सभा तथा अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले रामचन्द्र थापा मगरको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यक्रम बागमती प्रदेश सभा सदस्य तथा पूर्व पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा अनिलप्रसाद दाहाल, सचिवमा रामकृष्ण प्रजापति तथा कोषाध्यक्षमा नयनबहादुर भण्डारी चयन हुनुभएको छ। सदस्यहरूमा अनुशा थापा मगर, संगिता राना, कृष्णबहादुर कुमाल, हरी खतिवडा र अमित मानन्धर रहनु भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद श्रेष्ठले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले खेलाडीहरू आफ्नै सम्पत्ति बेचेर देशका लागि खेलिरहेको अवस्था दुःखद भएको उल्लेख गर्दै राज्यले खेलाडीको भविष्यप्रति जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। साथै, आवश्यक खेलमैदान र पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
उहाँले जग्गा व्यवस्थापन भए कबोर्ड हल निर्माणका लागि बजेट व्यवस्थापन गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। खेलकुद केवल खेलाडीको सपना नभई राष्ट्रकै सपना बन्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा संघका महासचिव मानबहादुर भण्डारीले खेलकुदलाई स्वास्थ्यसँग मात्र नभई राष्ट्र निर्माण, उत्पादन, रोजगार तथा आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विश्वले खेलकुदलाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गरिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले अवसर र चुनौतीलाई सही ढंगले व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

अधिवेशनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य कल्पना खड्का, संघका उपाध्यक्षहरू रामबहादुर गिरी, किरण श्रेष्ठ, ओमनारायण श्रेष्ठ, सचिव पुस्करराज पन्त, पूर्वप्रमुख प्रशिक्षक प्रचण्ड शर्मा, प्रमुख प्रशिक्षक प्रकाश थापामगर, केन्द्रीय सदस्य रेखा थापा मगर तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन लगायतको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083