नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न आईजीपी कार्कीको निर्देशन
वि.सं.२०८३ जेठ ६ बुधवार २२:४२
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले परम्परागत पुलिसिङ भन्दा पनि नवीनतम सोच र कार्यशैली अपनाई नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवम् प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी संगठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले बहन गर्न निर्देशन दिनुभयो ।

























